सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आज सोमबारदेखि अनलाइन प्रणाली मार्फत सिफारी दिन सुरु गरेको छ । नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा–४ बुराउँसेबाट यो सेवा दिन थालेको हो । सोमबार पहिलो दिन एक जना महिला र दुई पुरुष गरी तीन जनालाई अनलाइनमार्फत सिफारीस प्रदान गरिएको सिमकोट गाउँपालिका सूचना अधिकारी छिरिङ युङडुङ लामाले बताउनुभयो ।
गाउँपालिकाले केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसीआइएमएस) अनुसार दिन थालेको हो । यो प्रणाली सुरुपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइनर्माफत सिफारिस गर्ने भएको हो ।
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छिटोछरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने गाउँपालिका सूचना अधिकारी लामाले बताउनुभयो । विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने छ । वडा –४ बुराउँसेबाट सुरु भएको यो सेवा अव प्रत्येक वडामा लागु हुने भएको छ ।