सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ को वडा कार्यालय नजिकै आइतबार विहान ११ बजे बोलेरो जीप दुर्घटना भएको छ ।
गाउँपालिकाको खलसेरा तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०८२३ नम्बरको जीप वडा नम्बर २ को डुवानेओडारको सडकमा उकालो चट्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । जीपमा सवार गाडी चालक सहित सात जना भएपनि ६ जना यात्रु सकुसल रहेको र चालकलाई बाहिर चोट नभएपनि बोलन नसकेर बेहोस भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । चंखेली गाउँपालिका–४ मासिधारा घर भएका २२ वर्षका भिर बहादुर सिंह जीप चालक भएको उहाँले बताउनुभयो ।
चालक सिंह अहिले बेहोस अवस्थामा रहेको सञ्चारकर्मी कालि बहादुर थापाले बताउनुभयो । चालक सिंहलाई उपचारका लागि श्रीनगर स्वास्थ्यचौकीमा लगिएको थापाले जानकारी दिनुभयो । जीपमा सवार सात जना यात्रु सबै भने सकुसल रहेका छन् ।
२ नम्बर वडा कार्यालय हुँदै सोही गाउँपालिका कृषि शाखा प्रमुख विनिता महताराको खदसेरामा रहेको स्याउ फर्ममा काम गर्नको लागि रिजर्भ गरी ७ यात्रु सवार भएपनि सबै सकुसल गरेको उहाँले बताउनुभयो । जीपको अगाडी भागमा यात्रु सवार भएपनि जीपको पछाडि स्याउ फर्मका लागि आवश्यक पर्ने सरिया लगायतका सामग्रीहरुको लोड भएकाले पनि उकालो सडकमा धान्न नसके पछि जीप दुर्घटनामा परेको प्रत्यक्षदर्शीको भनाई उद्र्धित गर्दै थापाले बताउनुभयो ।
खलसेरा तर्फ जाँदै गरेको उक्त जीपको अगाडी गाइवस्तु हिडिरहेको अवस्थामा चालकले एक्कासी ब्रेक लगाउन खोज्दा ब्रेक नलागेर करिब ७ मिटर पछाडी तिर आई सडककै छेउमा जीप अड्किएको छ ।