‘लम्पी स्कीन’ रोगले १२७ पशु मरे, सोह्र सय बढी संक्रमित

नेपालचेक समाचारदाता बिहिबार, बैशाख २८, २०८०

सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।

लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा १२७ वटा पशु वस्तुहरु मरेका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ वटा गाइगोरुको मृत्यु भएको छ । भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली ५ र ८ वटा गाइगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताउनुभयो । हाल लम्पी छाला (स्कीन) रोग जिल्लाभर महामारीका रुपमा फैलिएको उहाँले बताउनुभयो ।

हुम्ला जिललाभर लम्पी स्किन रोगबाट हालसम्म १ हजार ६ सय ३९ वटा गाइगोरु संक्रमित भएका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका ९ सय २० वटा गाइगोरुमा यो संक्रमण बढी देखिएको छ । लम्पी स्किन संक्रमित भएका पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताउनुभयो ।

यस्तै संक्रमण देखिएका १ हजार ३ सय ७० गाइगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । जिल्लाभर ४१ हजार ४ गाइगोरु, ३ हजार २ सय ३४ भैसी, ४० हजार ४२ भेडा, १ लाख ३८ हजार ९३ बाख्रा, चौरी ७ हजार २ सय ४६ र १ हजार ८ सय २० कुखुराको संख्या रहेको छ ।

रोग नियन्त्रणबाहिर गइसकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमीले बताउनुभयो । हाल प्राथिक उपचारदेखि औषधि प्रयोग गरिरहेको बताउनुभयो । उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार नभएको पाइन्छ । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन नभएको बुमीले बताउनुभयो ।

पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि हुम्लाका किसान चिन्तित भएका भएका छन् । यसरी लम्पी रोगबाट पशु वस्तु विरामी भएर मर्न थालेपछि आफुहरु सारै चिन्तीत भएको सिमकोट गाउँपालिका–२ का डाङ्स्या रावलले बताउनुभयो । रावलले भन्नुभयो, “रोगबाट चार माना दुध दिने दुधालु जुमा मरेको छ । अन्य गाइगोरु समेत विरामीमा पर्न थालेका छन् ।” यसरी गाइगोरु मर्दै जाने हो भने रोजीरोटी खोसिने अवस्था छ । उपचारका लागि विभिन्न निकायमा भनेपनि उपचार हुन नसकेको किसान रावलको भनाई थियो ।” प्रति जुवा अर्थात गाइको दुधाल अनुसार रु पचास हजार देखि एक लाखसम्म मुल्य पर्छ । यतिबेला लेख तिर चरनका लागि लगिएका गाइगोरुमा समेत यो रोग देखा परेको छ ।

यो जिल्ला बाहिर सुर्खेत नेपालगञ्जबाट ल्याइएका २ सय ४० वटा गाइहरुमा पहिलो पटक देखा परेको थियो । ती गाइ जिल्लाको दक्षिण अदानचुली, ताँजकोट हुँदै पैदल भएर सदरमुकाम सिमकोट ल्याइएको थियो ।

हुम्ला सहित यो रोग कर्णाली प्रदेशका मुगु र जुम्ला बाहेक अन्य आठवटा जिल्लामा फैलिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]