सिमकोट । दुई हप्ता यतादेखि हुम्लाको मुटु मानिने जिल्ला सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार चुलिदै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएको कारण सदरमुकामबासीलाई खानेपानीको समस्या हुन पुगेको खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले बताउनुभयो । हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामबासीका लागि खानेपानी जडान गरि ल्याएपनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थप चुलिदै गएको हो ।
हुमाने खोलामा दुई हप्ता यतादेखि पानी सुक्दै गएको छ । खोलामा थोरै आएको पानी पनि जमिन मुनि छिरेर जाने गरेको उहाँले बताउनुभयो । हुमाने खोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भएपनि पाइप जडान गरि ल्याउने गरिएको छ । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्यांकी भरिन नसक्दा यहाँका सर्वसाधरणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो खोलामा पानी सुक्दै गएको छ । सदरमुकामका खानेपानीका ग्राहकले, हामीलाई पानी छोड्दैनन भनि गुनासो गर्नुहुन्छ । हामीले कहाँबाट पानी ल्याएर दिनु खोलाको पानी सुक्दै गएको छ । खोलामा पानी जमिन मुनि छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिका शुक्रबार मात्रै पानी नचुहिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको लामाले बताउनुभयो । गाउँपालिकाले दिएको पाल शनिबार पनि खोला र पाइप भएका स्थानमा पिछ्याउने कार्य भएको भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक रहेका छन् । उनीहरु सबैलाई विहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरेको लामाको भनाई छ । सिमकोटमा रहेका खानेपानीका रिर्जभ ट्यांकी यतिबेला खाली रहेका छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखिनै सदरमुकामबासीलाई विहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो ।
यतिबेला सरदुमकाम सिमकोटबासीले खानेपानी धारामा नआउँदा समस्या हुने गरेको गुनासो गर्ने गरेका छन् । सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रबासमा दुई महिनादेखि खानेपानीको आउन बन्द भएको छात्रबासका वार्डेन कमला लामाले बताउनुभयो । विहान बेलुका आउने पानी पछिललो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर पानी थाप्नु परेको उहाँको भनाई छ । खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ,सूचना टोल लगायतका नागरीकले टाढा टाढा पुगेर पानी भरेर खानु पर्ने अवस्था आएको गुनासो छ । खाना खानको लागि खानेपानीको समस्या हुँदै आएपनि सरसफाईका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।
केही दिन यतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समेत समस्या हुँदै आएको अनमी बोहराको भनाई छ ।