सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा भिषण आगलागी भएको छ । आइतबार राती उनापानीको औलवस्ति आठवटा घरमा आगलागी हुँदा विहान पाँच बजेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । राती एघार बजेतिर आगलागी हुँदा आठवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । राती एघार बजे विर्ख रावतको घरको गोठबाट आगलागी भएर सल्केको आगोले धन बहादुर रातव र जनक रावतको घर जलेर नष्ट भएपछि अरु छिमेकीका बाँकी पाँच घरमा आगो सल्केर नष्ट भएको पिडित धन बहादुर रावतले बताउनुभयो ।
आगो के कति कति कारणले लागेको कुनै जानकारी नभएको र सुरुमा आगलागी हुने गोठ विर्ख रावतका परिवार सबै लेखको वस्तिमा बस्ने र कसरी आगलागी भएको हो भन्ने थाहा नभएको रावतले बताउनुभयो । आइतबार आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राती दुई बजे घट्नास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
उनापानीको औल वस्तिमा आगलागी हुँदा विजन फडेरा, धन बहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् । अन्य छिमेकीका घरमा आगलागी हुन् नदिएको बताइएको छ । आगलागी हुँदा घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, नागरीकता, घरको लालपुर्जा, अन्य कागजात सहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ । पिडित धन बहादुर रावतका अनुसार आफ्नो घरमा भएको रु दुई लाख विस हजार नगद समेत जलेको दुख पोख्नुभयो ।
अन्य पिडितका घरमा भएको नगद समेत जलेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, खुट्टामा लगाउने चप्पल समेत जलेर नष्ट भएको छ । भएको जतिका सबै सम्पति जलेका छन् । मानविय क्षति कुनै भएको छैन् । अहिले सबै आगो नियन्त्रणमा लागि परेकाले क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।