काठमाडौं । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने हुनाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । वर्ष दिनमा दुईपटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ । ती दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ । ६–६ महिनाको अवधिमा सूर्यले मकर राशिदेखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशिदेखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ ।
आजबाट हिन्दूहरूका चाडबाड सुरु हुने बताइन्छ । बर्खा यामको मध्यविन्दु विशेष गरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ । पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । दिनभर परिवार, आफन्त जम्मा भएर मिठो, मसिनो खाने साँझ घरघरमा लुतो फल्ने परम्परा छ ।
पहाडी भेगमा कुरिलो, धसिँगारे, कुकर डाइनो, भलायो, हाडे उनिऊँ, पानी सरो, पानीअमला जस्ता वनस्पति जम्मा पारी आँगनमा आगो बाल्ने प्रचलन छ । कण्डारक नामको राक्षसको पूजा गरी चारै दिशामा अगुल्टो फालिन्छ । साउन महिनाभर पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको विशेष भिड लाग्छ । साउने सोमबारलाई महादेवको पूजा, आराधनाका लागि विशेष दिनका रूपमा लिइन्छ । यस महिना शिवलिंगमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । यस चलनलाई बोल बम भनिन्छ ।
यस्तै, आज थारू समुदायले गुरही अर्थात् गुरिया पर्व मनाउने गर्दछन् । यस पर्वमा भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा थारू महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भने पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन् र खेल्छन् । यो पर्व थारू समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ ।
आज सोमबारे औँसी पनि हो । हिन्दू धर्मावलम्बीअनुसार आजको दिन ‘सोमबारे औँसी’को दिनको तिथि प्राप्त गर्न ठूलो संयोग या भाग्य चाहिने उल्लेख छ । जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भनिन्छ । हिन्दू शास्त्रअनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने बताइन्छ ।