सिमकोट । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सिता एयरका दुई जहाज आइतबार सिमकोट विमानस्थलमै रोकिएको भएपनि सोमबार दिउँसो १२ बजे नेपालगञ्ज उडान भरेका हुन् । हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।
हिमपातसँगै कुइरो लागेपछि जहाज सिमकोटमै रोकिएको भएपनि सोमबार दिउँसो मौसम हल्का खुलेपछि नेपालगञ्ज उडान भरेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । खाद्यन्न ढुवानी गरि रहेका दुई जहाज हिमपात र बाक्लो कुइरोका कारण सिमकोट विमानस्थलमै रोकिएका हुन् ।
सुर्खेतबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । दुवै जहाज अवतरण गरेलगत्तै बाक्लो हिउँ पर्न सुरु हुनु र कुइरो लागेपछि जहाजले उडान भर्न सक्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरण सिमकोटले जनाएको छ ।
हिउँ पर्न सुरु भएपछि सीता एयरका कर्मचारीले दुवै जहाजलाई पालले छोपेर राख्नुपरेको थियो । मौसममा केही सुधार आएपछि सोमबार बिहानबाट रन वेको हिउँ गाडीबाट पन्छाएर सफा गरेपछि जहाजले उडान भरेका हुन् । अन्य जहाजले हिमपातका कारण उडान भर्न सकेका छैनन् ।