सिमकोट । चिसो बढ्दै गएपछि हुम्लाको एक मात्रै सिमकोट विमानस्थलको निर्माण प्रभावित भएको छ ।
हिमपातले चिसो बढेको कारण कालोपत्र नहुने भएपछि हुम्लाको सिमकोट विमानस्थल अन्तर्गतको नयाँ एप्रोनको निर्माण कार्य रोकिएको छ । जिल्लामा अत्यधिक चिसो बढेपछि निर्माण कार्य रोकिएको विमानस्थलको निर्माणमा काम गर्दै आउनुभएका तेण्डी शेर्पाले बताए ।
विमानस्थल भित्रको नयाँ एप्रोनको अन्य निर्माण कार्य सकिएर कालोपत्र गर्ने कार्य भई रहेको समयमा चिसो बढेपछि सो कामलाई रोक्नु परेको उनले बताए ।
जिल्लामा तापक्रम माईनस ११ डिग्री भन्दा माथि बढ्दै जान थालेपछि कालोपत्र गर्ने कार्य नहुने भएको हुँदा काम बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साईट इन्चार्ज अजय कुमार गुप्ताले बताए ।
इन्चार्ज गुप्ताले भने, “उक्त योजनाको ६० प्रतिशत कार्य सम्पन्न भएको भएपनि मुख्य काम कालोपत्र भएका कारण चिसोले गर्दा बन्द गरिएको छ ।” एप्रोन निर्माणका लागि निर्माण कम्पनी एपेक्स द ग्याल्भा क्यारा भ्यान जेभीसँग आर्थिक वर्ष ०७५÷०७६ मा निर्माणका लागि सम्झौता भएको थियो ।”
यस्तै एप्रोनमा कालोपत्र गर्ने ३५ प्रतिशतका काम सम्पन्न भएको छ भने ६५ प्रतिशतकाम रोकिएको उनले बताए । चिसोमा सेट नगर्ने भएका कारण अन्य काम सम्पन्न भएपनि कालोपत्र गर्ने काम मात्रै रोकिएको उहाँले बताउनुभयो । झण्डै एक महिना देखि कालोपत्र गर्ने काम रोकिएका छ भने, वर्खा लागेपछि मात्रै सुरु हुने भएको गुप्ताले जानकारी दिए ।
विमानस्थलमा हालको एप्रोनले जहाजलाई पार्किङमा समस्या देखिएपछि नयाँ एप्रोनको निर्माण कार्य थालिएको होे । विगतमा कोरोनाको समस्याले काम रोकिएको र गत असोजबाट सुरु भएको काम अहिले चिसोले काम अगाडि बढ्न नसकेको हो ।
१९ करोड लागतमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गरेको छ । नयाँ एप्रोनको कार्य सम्पन्न भएपछि चारवटा साना जहाजलाई पार्किङ गर्न सहज हुने भएको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।