सिमकोट। शनिवार राति २ बजेदेखिको लगातार हावाहुरीले सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ ।
आइतबार दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावतमा समेत निकै कठिनाई बनाएको छ । विहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत प्रभावित भएको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवा नियमित हुन नसकेपछि यहाँका स्थानीय समस्यामा परेका छन् ।
हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य देखि खाद्ययन्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रु समेत नेपालगञ्जमै रोकिएको हुन् । यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहमुखी क्याम्पसको छानो समेत उडाएको छ ।
हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पस भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
यसैगरी हावाहुरीले छानो उडाएपछि ७ लाख बराबरको क्षति पुगेको प्रहरीको आँकलन छ ।
कोरोना महामारीपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुन सकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ ।