सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ ।
सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका कार्यालय रहेका छन् । गाउँपालिका केन्द्र तथा वडा कार्यालयमा सम्बन्धित गाउँपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।
नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन जिल्लाका सातवटै स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको याल्वाङ्मा प्रहरीको प्रहरीको चौकी बाहेक अन्य गाउँपालिकामा वडा तथा गाउँपालिका केन्द्रका साथै नागरीक र प्रहरीको पहुँच पुग्ने स्थानमा गुनासो तथा सुझाव पेटीका राखिएको प्रहरी प्रमुख शर्माले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई थप प्रभावकारी र परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटीका जिल्लाका विभिन्न स्थानमा राख्ने कार्य सम्पन्न भएको प्रहरी प्रमुख शर्माले बताउनुभयो ।
स्थानीय निकायहरुमा सुझाव तथा गुनासो पेटिका स्थापना गरी नागरीकहरुबाट प्रहरीसँग सम्बन्धित सुचना संकलन गर्ने कार्य गरिनेछ ।
सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतार्न कार्यान्यनमा ल्याउनका लागी गुनासो तथा सुझाव संकलन पेटीका राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा राखिएको उक्त पेटीका हप्ताको एक दिन सम्बन्धीत गाउँपालिकाका जनप्रतिनिधिको रोबहरमा र सदरमुकाम बाहिर रहेका पालिकामा तथा वडामा राखिएका पेटीका प्रत्येक महिनाको १५ गते सम्बन्धित पालिकाका प्रतिनिधी तथा प्रहरी चौकीका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरु खोलिने भएको छ ।
पत्र मार्फत प्राप्त हुन आएका गुनासो, सुझावहरुको उचित सम्बोधन र सुनुवाई गर्ने उत्तरदायित्व जिल्ला प्रहरी कार्यालय हुम्लामा हुने भएको छ ।