सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेबाट प्रतिकेजी रु पाँच रुपियाँ छुटमा खाद्यान्न विक्री वितरण गर्ने भएको छ । नेपालीहरुको महान चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न विक्री वितरण गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका निमित्त प्रमुख नविन प्रसाद आचार्यले बताउनुभयो ।
खाद्य व्यवस्था हुम्लाले यहाँका नागरीकलाई २५ केजीका ६ किसिमका चामल विक्री वितरण गर्दै आएको छ । भने तोरी तेल र सुर्यमुखी तेलमा पनि प्रति लिटर रु सात रुपियाँ छुटमा विक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताउनुभयो ।
अरुवा मोटा चामलको रु एक हजार पाँच सय पच्चसी, अरुवा सोना मंसुली एक हजार सात सय पच्चीस, स्टिम जीरा मसिनो दुई हजार दुई सय पचास, अरुवा मोटा एक हजार पाँच सय पच्चीस, अरुवा सोना मंसुली एक हजार सात सय पच्चीस, स्टिम जीरा दुई हजार दुई सय तीस रुपैयाँमा विक्री वितरण गरिने भएको व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय पचास, अरुवा सोना मंसुली एक हजार आठ सय पचास, स्टिम जीरा दुई हजार तीन सय पचहत्तर रुपैयाँमा विक्री वितरण हुँदै आएको थियो ।
२५ केजी बोराका विभिन्न चामलको प्रति बोराबाट एक सय पच्चीस रुपैयाँ छुटमा विक्री हुन लागेको हो । यस्तै सुर्यमुखी तेल प्रति पेटीको रु दुई हजार दुई सय तीस र तोरी तेलको प्रति पेटी रु दुई हजार तीसमा विक्री हुन लागेको हो ।
सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ गतेदेखि असोज १५ गतेसम्म विक्री वितरण गरिने भएको जनाइएको छ । गत वर्षपनि यस कार्यालयले छुटमा खाद्यान्न विक्री वितरण गरेको थियो ।