सिमकोट । मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुम्ला मै रोमिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधवार रातिबाट वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो ।
टेकर सोसाइटीका प्रबन्धक प्रल्हाद लिम्बूका अनुुसार दुुई दिनदेखि ताक्चीबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने २५६ जना पर्यटक यतै रोकिएको बताउनुभयो । बुधबार रातिबाट लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर आ–आफ्नो गन्तव्यतर्फ लाग्नुुपर्ने पर्यटक ताक्ची र सिमकोटमा रोकिएका हुन् ।
यसमा ताक्चीबाट हेलिकोप्टरमा सिमकोट आउनुपर्ने ११० जना पर्यटक र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने ८२ पर्यटक रोकिएका छन् । सिमकोटबाट ताक्ची जाने ६४ जना पनि सिमकोटमै रोकिएका छन् । ताक्चीमा रहेकामध्ये शुक्रबार हेलिकोप्टरले एउटा मात्र उडान भर्न सक्दा पाँच जना थप सिमकोट आइपुुगेका छन् ।
सिमकोटबाट ताक्चीका लागि पर्यटक ल्याउन तीन वटा हेलिकोप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा रहे पनि लगातारको वर्षाका कारण हेलिले उडान भर्न सकेनन् भने सिमकोटमा रहेका पर्यटक ओसार्न नेपालगञ्ज विमानस्थलमा जहाज तयारी अवस्था रहे पनि उडान हुन नसकेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।
उडान नभएपछि पर्यटक दुुवै स्थानमा रोकिएका हुन् । यसले थप आर्थिक व्ययभारसमेत थपिएको छ । पानी परिरहेका कारण ताक्चीबाट लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक पनि प्रभावित भएका छन् ।
बादल लाग्ने र पानी परिरहेका बेला लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिँदैन । यस वर्ष सद्गुुरुसहित एक हजार १ सय ७५ जना पर्यटक मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिएका थिए ।