सिमकोट । कुनै दिन दिनभर उडान भर्दै आएका जहाजले चारदिन यता हुम्लामा उडान भर्न छोडेका छन् । सडक सञ्जालसँग नजोडिएको हुम्लामा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवा चार दिनदेखि अवरुद्ध भएको छ ।
नेपालगञ्ज, सुर्खेतबाट निजी तथा सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले समेत उडान भर्न छोडेको हो । चारदिनसम्म हवाई सेवा सञ्चालनमा नआउँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै अलपत्रमा रहेका छन् । भने नेपालगञ्ज र सुर्खेतदेखि हुम्ला पुग्ने यात्रु समेत जिल्ला बाहिरै रोकिनु परेको छ ।
हुम्लामा उडान भर्दै आएका निजी एयर सिता, तारा र समिटले पूर्वमा उडान भर्दा यहाँका यात्रुलाई जिल्ला बाहिर जान समस्या बनाएको हो । पछिल्लो समय नाफामुली पूर्वका जिल्लामा उडान भर्दै आएका जहाजले चारदिन यता हुम्लामा उडान ठप्प गरेका हुन् ।
शुक्रबार र शनिवार मौसममा आएको खराबका उडान हुन नसकेपनि हुम्ला उडान भर्दै आएका जहाजले यतिबेला पूर्वमा उडान भरिरहेका कारण उडान हुन नसकिरेहेको छ । हाल हुम्ला मात्र नभएर कर्णालीका हिमाली जिल्लामा उडान भर्दै नसकेको हो । उडान नहुँदा दुुवैतर्फका यात्रुु मर्कामा परेका छन् ।
चार दिनयता दैनिक उपभोग्य सामान पनि ढुवानी हुन नसकेको पसल व्यवसायीले बताउने गरेका छन् । उडान नभएपछि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएर आउने हरियो तकारी, कुखुुराको मासुु नआएपछि सिमकोटलगायत आसपासका क्षेत्रमा मासुुको समेत अभाव देखिएको छ । यस्तै दैनिक उपभोग्यवस्तुको समेत अभाव हुन थालेको व्यवसायीले बताउने गरेका छन् ।
हवाई सेवा रोकिएकाले हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै निर्माण सामग्रीहरू नेपालगन्ज र सुर्खेतमै रोकिएका छन् । लगातारको हवाई सेवा बन्दले जिल्लाबाट नेपालगन्ज र सुर्खेत जाने र हुम्ला आउने यात्रुहरू अलपत्र परेका छन् ।