सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा एक जना युवक झुण्डिएको अवस्थामा फेला परेका छन । गाउँपालिकाको वडा नम्बर ५ डाँडा सायाँ घर भएका अन्दाजी ४० बर्षीय कमल शाही आफ्नै घरको गोरु थुन्ने गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
शाहीको गैरी साँया र डाँडा सायाँ दुबै ठाउँमा घर भएकाले तल गाउँकाले माथि गएको र माथिका गाउँकाले तल गएको भन्दै अन्यौलमा परीरहेकाले ३ दिन सम्म घर नआउँदा खोजी कार्य गर्दा गोठभित्र घाँटीमा डोरीको पासो लगाइ मृत अवस्थामा फेला परेको सर्केगाड प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रामु चौधरीले बताउनुभयो ।
उहाँका अनुसार, गत ७ गते जिल्लाका ठकुरी बस्तीमा लाग्ने गौरा पर्ब हेर्नका लागि घरबाट निस्किएका शाही गोठमा भुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले लासलाई निकालेको हो । मृतक शाहीको लास कहिले देखिको हो भन्ने समेत थाहा नहुँदा गनहाउने अवस्थामा रहेको लासलाई बुधबार निकालिएको प्रहरीले जनाएको छ । सोही लासको थप अनुसन्धानका लागि प्रहरी सहायक नरेन्द्र बहादुर चन्द नेतृत्वमा प्रहरी टोली सोही ठाउँमा पुगेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।