सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेती सम्बन्धि दुई दिने तालिम सञ्चालन गरेको छ ।
‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकहरुका लागि उक्त तालिम संचालन गरिएको कृषि शाखा ना प्र स विमला सिंहले बताउनुभयो । कम्तीमा महिलाको भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उदेश्यले संचालित तालिमबाट महिलाहरुले जिबिकोपार्जन समेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको नाप्रस सिंहले बताउनुभयो ।
वडा–६ माथिल्लो गाउँका १५ जना दलित महिला कृषकहरुलाई लक्षित गर्दै संचालन गरिएको तालिमको सहजिकरण गाउँपालिका कृषि शाखाका नाप्रस सिंह र कृषि जेटिए सुन्दर रावतले गरेका थिए । मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी दुई दिने तालिम बुधबार र विहिबार सञ्चालन भएको थियो ।
तालिममा सहभागी १५ जना दलित महिला कृषकलाई ग्रीनहाउस निर्माणका लागि प्रति महिला एक एक थान पाल वितरण गरिएको हो । यस्तै उक्त महिलालाई ६ प्रकारका तरकारी बिउ निःशुल्क वितरण गरिएको नाप्रस सिंहले बताउनुभयो । यस्तै पाल र बिउ सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी उपाध्यक्ष सुशिला रोकायाले हस्तान्तरण गर्नुभएको थियो ।
दुई दिने तालिम आज सम्पअन्न भएको हो ।