सिमकोट । कर्णाली कलाकार संस्था हुम्ला र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल शाखा हुम्लाले मास्क वितरण गरेको छ । माघे संक्रान्ति मेलाको अवसर पारेर आज विहान खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु दोभानको शिवालयमा स्नान तथा पुजापाठ गर्न गएका भक्तजनलाई मास्क वितरण गरेको हो ।
कलाकार संस्थाका जिल्ला अध्यक्ष मान बहादुर रावत र प्रतिष्ठान शाखा हुम्लाका जिल्ला अध्यक्ष नवराज भण्डारी सहित सोही संस्थामा आवद्ध कलाकारहरुले मास्क वितरण गरेको हो । शिवालयका अध्यक्ष हरिभक्त शाहीको सहर्कायमा सात सय ३० वटा मास्क वितरण गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष भण्डारीले बताउनुभयो ।
माघे संक्रान्ति मेलामा भक्तजनहरुको बाक्लो उपस्थित हुनुका साथै भिडभाड बढी हुनेभएका कारण उनिहरुलाई मास्क वितरण गरिएको हो । पछिल्लो समय नेपालमा समेत कोरोनाको संक्रमण उच्च जोखिम हुँदै आएको कारण सबैले कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सम्बन्धिका सबै सावधानी पुरा गरुन भन्नका लागि मास्क वितरण गरिएको भण्डारीले बताउनुभयो । यस्तै सोही संस्थाहरुले खार्पु दोभानमा रहेको शिवालयमा बृहत साँस्कृति कार्यक्रम समेत सञ्चालन गरेको जानकारी प्राप्त भएको छ । देउडा कार्यक्रम गरेर मनोरञ्ज गर्नुका साथै भव्य रुपमा साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।